
सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा माइती नेपालद्वारा एक कार्यक्रमको आयोजना
मानव बेचबिखन बिरुद्ध राजनीतिक दलहरुको साझा प्रतिबद्धता
माइती नेपाल द्वारा मानव बेचबिखन बिरुद्ध को १६ औँ राष्ट्रिय दिवस को अवसर पारेर काठमाडौंको एभरेष्ट होटेल मा सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ‘मानव बेचबिखनविरुद्ध मेरो दलको प्रतिबद्धता’ बिषयक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस, ने क. पा. एमाले, ने. क. पा. माओवादी, ने.क.पा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सहित विभिन्न दलका प्रतिनिधि तथा सांसदहरु गरी १०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य र प्रस्तुतीकरण दिदै माइती नेपालका कार्यकारी निर्देशक श्री बिश्वराम खड्काज्यूले मानव बेचबिखनको वर्तमान अवस्था र माइती नेपालले गरिरहेका कार्यहरुको बारेमा ब्याख्या गर्नुभयो । उहाँले बेचबिखनको बदलिदों स्वरुपका साथै मानव बेचबिखनको समस्याले आशातित सफलता नपाउनुको मुख्य कारणमा यो समस्यालाई राजनैतिक मान्यता नपाउनु र दलहरुले आफ्नो प्राथमिकतामा यस बिषयलाई कहिले उठान नगरिएको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका सम्मानिय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूले मानव बेचबिखन न्यूनिकरण गर्नमा नेपाल सरकारको प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । उहाँले मानव बेचबिखन राष्ट्रिय, क्षेत्रिय र स्थानिय समस्या भएकोले नेपाल सरकारले आफ्नो हर तह र तप्कामा मानव बेचबिखनविरुद्ध क्रियाशिल संयन्त्र निर्माण गर्न साथै मानव बेचबिखन विरुद्ध सशक्त रुपमा एकिकृत कार्ययोजनाहरु तयार गरेर मानव बेचबिखन रहित समाज निर्माण गर्न नेपाल सरकार हर बखत तत्पर रहेको कुरा जनाउनु भयो ।
कार्यक्रममा विभिन्न दलका सहभागीहरुले आफ्नो मन्तव्य राखेका थिए । “मानव बेचबिखन जघन्य अपराध हो भन्ने सबैको साझा अभिमत रहेको थियो । यो समस्याको सही समाधान हुनको लागि यसलाई राजनैतिक प्रतिबद्ध आवश्यक पर्छ र आगामी संघिय र प्रादेशिक चुनावमा यस समस्यालाई आफ्नो घोषणा पत्रमा उल्लेख गर्ने प्रतिवद्धताहरु जनाउनु भयो ।
यस बिशेष कार्यक्रममा अध्यक्षता गर्नु भएका माइती नेपालको संस्थापक अध्यक्ष श्री अनुराधा कोइरालाज्यूले कार्यक्रममा आफ्नो अमुल्य समय दिएर सहभागी हुनुभएका सांसद र अतिथिहरुलाई धन्यवाद दिदै माइती नेपालको अभियानमा सहकार्य र ऐक्यबद्धता जनाउनु भएकोमा धन्यवाद दिनुभयो । साथसाथै मानव बेचबिखन भनेको मानवता माथिको कलंक हो, यस समस्याको हल सबै राजनैतिक, सरकारी र गैर सरकारी क्षेत्र सबै मिलेर मात्रै यसको सही समाधान हुनसक्छ भन्ने कुरा अभिव्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा माइती नेपालका बालबालिकाले आफुले भोगेका कथाब्यथाहरु सुनाएका थिए भने एउटा चेतनामुलक नाटक पनि प्रस्तुत गरेका थिए ।
माइती नेपाल विगत ३० बर्षदेखि मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था हो । हालसम्म माइती नेपालले ५०००० भन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार गरी सकुशल पुर्नस्थापना गराएको छ ।