भैरहवा, ७ साउन ।
माइती नेपाल आवधिक गृह भैरहवाले किशोरीहरुलाई प्रशिक्षणमूलक कार्यक्रम शनिबार भैरहवामा सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का ३० जना किशोरीलाई प्रशिक्षण दिइएको माइती नेपालले जनाएको छ । मानव बेचविखन भनेको के हो, कसरी बेचिन्छ र जोगिन के गर्नुपर्छ जस्ता कुराहरुका बारेमा प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । पछिल्लो समयमा विभिन्न नयाँ तरिका अपनाएर बेचविखन हुने गरेको उनले बताइन् । सामाजिक संजालबाट पनि प्रलोभनमा पारेर किशोरीहरु फस्ने गरेको भन्दै सचेत रहन सबैमा संयोजक क्षेत्रीले आग्रह गरिन् । अभिमुखिकरण कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत सिद्धार्थनगर नगरपालिका–९ का १८ वर्षमुनीका किशोरीहरुको सहभागिता रहेको थियो ।