
सामाजिक अवस्था र लैंगिक हिंसाबारे एकीन जानकारी दिन भन्दै लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणाली सुरुवात गरिएको छ । छरिएर रहेका लैंगिक तथ्यांकलाई एकीकृत गरी संघ, प्रदेश र स्थानीय तहका सूचना एकै ठाउँमा संकलन गर्न प्रणालीको सुरुवात गरिएको हो ।
संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको प्रणालीको बिहीबार लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले उद्घाटन गरिन् । उनले सूचना प्रणालीमा लैंगिकता, महिला र सामाजिक विषयका सबै कागजातलाई एकीकृत गरी लैंगिक तथ्यांक पूर्ति गर्ने लक्ष्य लिइएको बताइन् ।
एकीकृत सूचना नहुँदा लैंगिक समानता र हिंसाविरुद्ध काम गर्न समस्या भएको भन्दै उनले अब सरकारी कामकाजका लागि समेत सहज हुने विश्वास व्यक्त गरिन् । ‘सरकारी नीति तथा योजना बनाउन, कार्यक्रम ल्याउन र आवश्यकता परेको समूहमा पुग्न एकीकृत तथ्यांक सहयोगी बन्ने छन्,’ उनले भनिन् ।
लैंगिक हिंसा र घरेलु हिंसाका तथ्यांक सहजै उपलब्ध नहुने र दोहोरिने समस्या धेरै छ । जसमा महिला, बालबालिका, किशोरी, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिकका छुट्टाछुट्टै सूचना र तथ्यांक राखिएको छ । बालगृह, बाल सुधारगृह वृद्धाश्रम, मानव बेचेबिखन तथा ओसारपसार, लैंगिक परिचयपत्र, प्रतिवेदनहरुको विवरण छुट्टाछुट्टै रुपमा पाइने बताइएको छ ।